Bhanu Bhakta Dhakal

अपडेट


मिति २०७४ साल श्रावण ३१ गते नेकपा (एमाले) संसदीय दलको ६० औं वैठकले गरेका निर्णयहरु :

१. हालैको अविरल वर्षा, भीषण बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागहरुमा ज्यान गुमाउनु हुने सबै प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा यो वैठक गहिरो समवेदना प्रकट गर्दछ । साथै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

२. अविरल वर्षा, बाढी, पहिरो र डुबानका कारण तराई मधेश लगायत देशका विभिन्न भागहरुमा भएको व्यापक धन–जनको क्षतिप्रति यो बैठक गहिरो दुःख प्रकट गर्दछ । प्राकृतिक विपद्को यस घडीमा राज्यको सम्पूर्ण क्षमतालाई उपयोग गर्दै विपत्तिमा परेकाहरुलाई उद्धार गर्नुका साथै राहत दिन, मृतकका परिवारलाई रु. ५ लाख तत्काल राहत स्वरुप प्रदान गर्न, घाईतेहरुको निःशुल्क उपचार गर्न, क्षतिग्रस्त कृषिबाली, उद्योग व्यवसाय, पूर्वाधार र भौतिक संरचना, नीजि आवास, कार्यालयको मूल्यांकन गरी पुनर्निर्माण एंव पुनर्वास समेतको योजना–कार्यक्रम राष्ट्रिय सहमतिका साथ तयार गरी कार्यान्वयन गर्न यो वैठक नेपाल सरकारसँग माग गर्दछ ।

३. बाढी र डुबानबाट ग्रस्त क्षेत्रलाई बाढीग्रस्त क्षेत्र घोषणा गर्नुका साथै डुबानको गम्भीर समस्या देखिएको तराई–मधेशका सीमावर्ती इलाकामा र दशगजा क्षेत्रमा छिमेकी देशले बनाएका बाँध एंव तटबन्धको अध्ययन गरी यसबाट उत्पन्न समस्याको समाधान गर्न आवश्यक कूटनीतिक पहल गर्न यो वैठक नेपाल सरकारसँग माग गर्दछ ।

४. देशका विभिन्न भागहरुमा बाढी, पहिरो र डुबानबाट पिडित जनताको तत्काल राहतका लागि यो वैठक नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरुको एक महिनाको पारिश्रमिक सहयोग स्वरुप प्रदान गर्ने निर्णय गर्दछ ।

५. राहत र उद्धारको कार्यलाई चुनावी राजनीतिको हथकण्डा नबनाउन यो गठबन्धन सरकारलाई आग्रह गर्दै यो बैठक पीडित जनताका लागि प्राप्ति हुने अनुदान, सहयोगलाई नरोकि समन्वय र सहजीकरण गरी पीडित जनता कहाँ पुग्न दिन नेपाल सरकारसँग माग गर्दछ ।

६. राहत र उद्धारको काम प्रभावकारी रुपमा गर्न तथा जनजीवनलाई सामान्य तुल्याउन क्षतिग्रस्त सडकहरुको तत्काल मर्मत सुधार गरी संचालन गर्न अत्यन्त आवश्यक भएकोले यस कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन यो बैठक नेपाल सरकारसँग माग गर्दछ ।

-भानु भक्त ढकाल

(प्रमुख सचेतक)

मितिः२०७४/०४/३१

Back Page